तेह्रथुमको लालीगुराँस नगरपालिका बसन्तपुरमा निर्माण भएको मिनी मार्केट
सोमवार देखी संचालनमा आएको छ । भवनको उद्घाटन गर्दै लालीगुराँस नगरपालिकाका
नगरप्रमुख अर्जुन माबोहाङले स्थानीय कृषि
उत्पादनको व्यवस्थित संकलन, भण्डारण
तथा बिक्री–वितरणका लागि मिनी मार्केट औपचारिक रूपमा सञ्चालनमा ल्याईएको बताउनु
भयो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख
माबोहाङले मिनी मार्केटले किसान र बजारबीचको दूरी घटाउँदै कृषि उत्पादनको
व्यापारलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार किसानले
लामो समयदेखि भोग्दै आएको भण्डारण र बजार व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न
यो संरचना प्रभावकारी हुने छ।
मिनी मार्केट सञ्चालनमा आएपछि
स्थानीय रूपमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपजको बिक्री प्रक्रिया सहज बन्ने, बिचौलियाको प्रभाव कम हुने र
किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीय
कृषकहरूले पनि यसले कृषि व्यवसायप्रति आकर्षण बढाउनुका साथै उत्पादन वृद्धि गर्न
प्रेरणा मिल्ने बताएका छन्।
११
करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन सघन
सहरी विकास कार्यालय, धनकुटा ले तयार गरी लालीगुराँस
नगरपालिका लाई
हस्तान्तरण गरेको हो। नगरपालिकाले यसलाई भविष्यमा स्थानीय कृषि उपजको प्रमुख
व्यापारिक केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ।
